काठमाडौँ: नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिची साइगोले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र जापानी उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न आफू लागिपर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग आज भएको भेटमा राजदूत साइगोले नेपालको विकास कार्यक्रममा जापानले सहयोग गर्न पाएकोमा खुसी व्यक्तगर्दै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा जापानबाट थप सहयोग र सहकार्य उपलब्ध हुने बताए ।
जापानी लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल गरिने विश्वास समेत व्यक्त गरेका छन् ।
परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा जापानी उद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको बताए ।
नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको शर्माले बताए ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरेको नेपालमा सञ्चालित उद्योगहरुले आफ्नो लगानीको नाफा रकम फिर्ता लग्ने विषयमा कुनै समस्या नभएको र राम्रो वातावरण नेपालमा भएको समेत उनले बताए ।
