भक्तपुर :भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताएका छन् ।
मध्यपुरथिमिस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको ११ औँ वार्षिक साधारणसभामा उनले लगानी र उत्पादनमूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने बताए । उनले लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने धारणा राखे ।
मन्त्री अर्यालले भने, “देश सङ्क्रमणकालीन अवस्थामा रहेको छ, सहकारी ऐन पनि सङ्क्रमण मै छ, सङ्क्रमणमा नै रहे पनि देशलाई समृद्ध बनाउने सन्दर्भमा भने सबै एक भएर जानुपर्छ ।” सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, अब सहकारीले पनि लगानी र उत्पादनको दायरा बढाउनुपर्ने बताए ।
सो अवसरमा संस्थाका अध्यक्ष राममसुन्दर श्रेष्ठले संस्थाको हालसम्म शेयर पूँजी दुई करोड ५७ लाख २५ हजार रुपैयाँ पुगेको, संस्थाको बचत ३१ करोड ४० लाख ८४९ रहेको, २६ करोड ६२ लाख ७४ हजार ६१ रुपैयाँ ऋण लगानी गरेको र यसवर्ष ८७ लाख ८८ हजार ४५ रुपैयाँ रहेको जानकारी दिए ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोबिन्द लाखाजु, स्फेकका अध्यक्ष श्यामसुन्दर श्रेष्ठलगायतले सहकारीले अन्य क्षेत्रमा पनि लगानी गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।