काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।
मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै आज बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत् राखिएको छ ।
“निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तीमा भनिएको छ ।
