काठमाडौँ: कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेश गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म ८ खर्ब २९ अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब थप भएपछि हालसम्मको बेरुजु रकम ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।
महालेखाले आर्थिक वर्ष २०७८/७९ मा संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्थाका कुल ६ हजार ५४६ वटा निकायको लेखा परीक्षण गरेको थियो । यी निकायले राज्यकोषबाट गरेको आर्थिक कारोबार र अन्य काम कारवाहीको लेखापरीक्षण गर्दा महालेखाले सो बेरुजु भेटेको हो ।
आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु र कुल बक्यौता रकम ६ खर्ब ६४ अर्ब रुपैयाँ थियो । दुई वर्षको अवधिमा कुल बेरुजु र बक्यौता रकम झण्डै ३ खर्ब बढेर ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले १७ खर्ब ९३ अर्बको बजेट कार्यान्वयन गरिरहेको छ । तथ्यांक अनुसार हालसम्मको बेरुजु रकमको अंक कुल बजेटको करिब आधा हो ।
