काठमाडौँ: पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बाल कृष्ण खाँणको आइतबार सरकारी वकिलको रोहबरमा बयान लिने प्रहरीको तयारी छ ।
मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य प्रहरीले फेला परेको छ । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क स्थापित भएको थियो ।
केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् ।
पक्राउ पर्नु पूर्व पाण्डेले जस्तै खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ ।
‘अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा उहाँले गिरोहका सदस्यसँग भेटेको स्वीकार गर्नुभएको छ । त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका छन्,’ प्रहरी अधिकारीले भने, ‘अब मोबाइलबाट भेटिने प्रमाण अनि बयानबाट के–कस्तो खुल्छ, त्यो बाँकी छ ।’
