काठमाडौँ: उदयपुरमा बोलेरो दुर्घटना हुँदा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका- ७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उपयपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
दुर्घटनामा परेको बोलेरोको नम्बर खुलेको छैन। बोलेरो सडकबाट निकै तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
‘घाइते यात्रुले बोलेरोमा १५ जना सवार रहेको बताएका छन्,’ इन्सपेक्टर थापाले भने, ‘जसमध्ये ७ जनाको मृत्यु भएको खबर आएको छ। एक जना घटनास्थलमै बेपत्ता छन्। सात जना घाइतेको उद्धार हुँदैछ।’
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले स्थानीयसँगको समन्वयमा प्रहरीले अहिले मृतक र घाइतेको उद्धार गरिरहेको जानकारी दिए। घटनास्थल भोजपुरको सीमा नजिकै पर्छ।
घटनास्थलमा अहिले स्थानीयसँगै प्रहरी चौकी हसनपुर र भोजपुरबाट पनि प्रहरीहरु पुगेका छन्।
मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ।
