काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छिन्।
राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन्।
विभिन्न देवदेवताको गण, पुलुकिसी(ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको पनि सहभागिता थियो ।

विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको बैठक यसै वर्ष मात्र पुनःनिर्माण भएको हो । विसं २०७२, २०७३ र २०७४ सालको इन्द्रजात्राको कार्यक्रम विशिष्ट व्यक्तित्वले वसन्तपुर डबलीबाटै अवलोकन गरेका थिए।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोकको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई काठमाडौँ भित्र्याउन पनि साइत हेरिन्छ । यहाँ भित्र्याइएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरी भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस उपलक्ष्यमा आज काठमाडौँ उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । यस अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

मनाइयो अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशीका दिन आज अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरी अनन्त चतुर्दशी पर्व पनि मनाइएको छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागामा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाहरुले आजै मन्त्रने विधानसमेत रहेको उनले बताए।