काठमाडौं । सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको बैठक पछि एक मन्त्रीले जानकारी दिए ।
को हुन् एकनारायण अर्याल
स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।
निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।
अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।
मुख्यसचिव अर्यालले निजामती सेवामा उल्लेख्य सुधारका काम गरेका छन् । उपसचिवका रूपमा निजामती किताबखानामा कार्यरत हुँदा उनले सबै निजामती कर्मचारीहरूको वैयक्तिक विवरण (प्रश्नल इन्फर्मेशन सिस्टम) र कर्मचारीको सम्पत्ति विवरण (प्रोप्रटी म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम) निर्माण गरी विद्युतीय अभिलेख राख्ने प्रणालीको विकास गरे ।
उनीसँग विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर कार्य गरेको अनुभव पनि छ । प्रमुख जिल्ला अधिकारीका रूपमा मकवानपुर, तनहुँ र काठमाडौँमा उनी खटिएका थिए । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी हुँदा उनले उत्कृष्ट प्रजिअको रूपमा नागरिक अभिनन्दन प्राप्त गरेका थिए ।
यसै गरी २०७२ सालको विनाशकारी गोरखा भूकम्पका बेला काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका अर्यालले उक्त विपद्को उत्कृष्ट व्यवस्थापनको कार्य गरे बापत उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका थिए ।
गृह मन्त्रालयमा सहसचिवको जिम्मेवारी वहन गर्दा गृह प्रशासन सुधार योजना निर्माण र कार्यान्वयनसम्बन्धी कार्य गरेका थिए ।
भारतको कोलकतामा महावाणिज्यदूत भएका बेला अर्यालले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको शुरुवात गरे । त्यहाँ रहँदा उत्कृष्ट कार्यसम्पादन गरेकोमा विभिन्न संघसंस्थाबाट पुरस्कार प्राप्त भएको थियो ।
अर्यालले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पनि काम गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत (सचिव)का रूपमा काठमाडौँ महानगरपालिकामा कार्यसम्पादन गरे । त्यति बेला उनले राजस्व सङ्कलनको लागि अनलाइन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याए भने घर निर्माणको लागि नक्सा पास गर्न अनलाइन प्रणालीको विकास गरे ।
