खुर्कोट (सिन्धुली) — सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा नेपाली सेनाले सोमबार बिहान बेलिब्रिज हाल्ने काम सकेको छ । बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै सवारी साधन सञ्चालनमा आउने सेनाले जनाएको छ ।
बेलिब्रिजको काम सकिएको र रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने थोरै काम बाँकी रहेको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगाएपछि बेलिब्रिज हालिएको हो ।
भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न गरिएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ । ‘बेलिब्रिजमा केही नटहरु कस्न बाँकी थियो, त्यो पनि सकियो,’ पुल निर्माणमा खटिएका-१४ नम्बर वाहिनीका फिल्ड कमान्डर प्रमुख सेनानी नारायण तुम्वाहाम्फेले जानकारी दिए ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने १० वर्षअघि बनेको सुनकोशी नदीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।
