काठमाडौँ: शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले पराजित भएको हो। यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रनको योगदान दिइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरेपनि टोलीको हार टार्न सकिनन्।
सना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाए। ज्योत्सिना मरासिनी ११ रनमा अविजित रहिन्।
नेपाललाई अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा त्यसअघि अजमानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।
यूएईका लागि रिनिता रजिथले सर्वाधिक ४८ रन बनाईन्। उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरिन्।
ओपनर लाभन्या केनीले २० तथा इन्दुजा नन्दकुमारले १२ रन थपे।
नेपालकी पुजा शर्माले ३ विकेट लिइन्। पुजा महतो, करिश्मा गुरुङ र सिमा केसीले समान एक विकेट लिए।
जितसँगै यूएई ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा छ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। दोस्रो खेलमा कुवेतमाथि १ सय ८ रनको फराकिलो जित निकालेको थियो।
प्रतियोगितामा नेपालले आइतबार पुनः थाइल्यान्डसँग खेल्नेछ।
चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछन्।
यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।
