काठमाडौँ:
सर्वोच्च अदालतले गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालेको ३ वर्ष भैसकेको छ ।
यसअघि प्रधानन्यायाधीशले कुन मुद्दा कुन न्यायाधीशको इजलासबाट हेर्ने भन्ने तय गर्थे। तर, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पेसी तोक्दा नै मुद्दामा चलखेल गरेको आरोप लागेपछि प्रधानन्यायाधीशको त्यो अधिकार खोसियो।

मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशको भूमिका नहुने गरी २०७८ मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालिएको हो। अहिले सर्वोच्चदेखि उच्च र जिल्ला अदालत (एकभन्दा बढी न्यायाधीश भएका) सम्मै गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालिएको छ।
न्यायाधीशहरूले गोला तान्छन् र उक्त गोलामा मुद्दाहरूको समूह जनिने नम्बर लेखिएको हुन्छ। जुन गोला तानिन्छ, ती न्यायाधीशको इजलासमा त्यही समूहका मुद्दा पर्छन्। यस पेसी तोक्दा हुने बेथितिहरू कम गरेको विश्वास सर्वोच्च अदालतका अधिकारीहरूको छ।
