काठमाडौं: विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको नेपाल राष्ट्र बेंकले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९ खर्ब २ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वद्धि भई २४ खर्ब ७ अर्ब २० करोड कायम भएको छ ।
२०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
२०८१ असार मसान्तको तुलनामा २०८१ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०८१ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३४.७४ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ रहेको थियो ।
