काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्ने पत्र आइपुगेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत पठाएको निमल्बनसम्बन्धी पत्र आइतबार अपरान्ह आइपुगेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत् पठाएको पत्र आइपुगेको छ’, उनले भने, ‘हामी त्यसलाई कानुनबमोजिम प्रक्रियामा लैजान्छौँ।’
जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो ।
लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वत: निलम्बनमा पर्ने सम्भावना बढेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउने/ नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।
