काठमाडौँ: नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल संचालन गरेवापतको ९ करोड रुपैयाँ बक्यौता सरकारबाट उठाउन सकेको छैन।
संस्थानको बारम्बारको ताकेता र पत्रसहित अनुरोध हुँदा समेत सरकारले खाद्यको बक्यौता रकम अझै निकाशा नगरेको संस्थानले जनाएको छ।
यस्तो बक्यौता रकम २०६७/६८ सालदेखि आर्थिक वर्ष २०७३/७४ सम्म उठ्न सकेको छैन। सरकारको मातहतमा संस्थानहरुले सुपथ मूल्य पसल गर्दा उपभोक्तालाई छुट दिइएको रकम सरकारले सम्बन्धित निकायलाई भरपाई गर्नुपर्छ।
सुपथ मूल्य पसल संचालनको सम्पूर्ण व्यस्थापनको तयारी र बजेटको व्यवस्था भने पहिले नै सम्बन्धित संस्थानहरुले गर्ने र पछि यसको भरपाई माग हुने गर्दछ।
“सुपथ मूल्य पसल संचालन गर्दा दिइएको छुट कुनै वर्ष त दुई तीन करोड समेत पुगेको छ जुन सरकारले निकासा गरेको छैन,” संस्थानकाका प्रबक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए।
उनले भने, “हामीले बारम्बार मन्त्रालयलाई अनुरोध गरेता पनि बाँकी रहेको बक्यौता असुलउपर हुन सकेको छैन जसले गर्दा संस्थानलाई दैनिक कार्य संचालन गर्न समेत गाह्रो परेको छ।”
यद्यपी सरकारले गत साल पसल संचालन गर्न भनेर अग्रिम ६०-६२ लाख रुपैयाँ भुक्तानी दिएको र यो साल पनि दुई करोड दिने निर्णय गरेको छ।
“संस्थान सरकारी निकाय भएकोले सरकारका कार्यक्रम संचालन गर्नै पर्यो अग्रिम पैसा देउ भनेर माग्न मिलेन त्यसै कारणले यति ठूलो रकम बक्यौता रहन गएको हो,” उनले भने।
संस्थानले सरकारको निर्णय बमोजिम चाडवाडका बेलामा उपभोग्य बस्तुमा छुट दिएर जनतालाई सुविधा दिंदा निजी पसलको मूल्य वृद्धि केहि हदसम्म नियन्त्रण गर्न यस्ता सुपथ मूल्य पसल संचालन गर्दै आएको छ।