काठमाडौँ: चालु आर्थिक वर्षको पुस महिनामा मात्रै एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम मंसिर महिनाको तुलनामा ४ अर्बले धेरै हो ।
चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको थियो ।
रेमिट्यान्स आप्रवाह हरेक महिना निरन्तर बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालुको आव कात्तिक महिनाको तुलनामा मङ्सिरमा ४ अर्बले बढेको रेमिट्यान्स मंसिर महिनाको तुलनामा पुसमा पनि सोही दरमा बढेको हो ।
चालु आवको पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खबै ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
चालु आवमा पुसम्ममाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवमो सोही अवधिमा यस्तो आय ७ अर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।
चालु आवको पुसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाखद ६२ हजार ६ सय २८ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३ सय ९० र एक लाख ३३ हजार ९ सय ४० रहेको थियो ।