काठमाडौं: सन् २०२५ को पहिलो महिना अर्थात जनवरीमा झण्डै ८० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ७९ हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण आएका हुन् ।
बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीको तुलनामा यस वर्षका जनवरीमा पर्यटक आगमन थोरैले बढेको देखिन्छ । गत वर्षको जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए ।
यस वर्षको पहिलो महिनामा भारतबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा १५.१ प्रतिशतले कमी आएको छ । २०२४ को जनवरीमा २४ हजार १३९ पर्यटक भित्रिएकोमा यस वर्षको सोही महिनामा २० हजार ४८५ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपालको अर्को छिमेकी मुलुक चीनबाट भित्रिने पर्यटकको संख्यामा भने सुधार देखिएको छ । यस वर्षको पहिलो महिनामा चीनबाट ८ हजार १९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १२.७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ७ हजार २६७ जना चिनिया पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
अन्य मुलुकहरूमा अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अस्ट्रेलिया ४ हजार ३०१, दक्षिण कोरिया ३ हजार ७५६, थाइल्याण्ड ३ हजार २१९, जापान १ हजार ४७० र भुटान २ हजार ७६८ जना पर्यटक भित्रिएका छन् ।
मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए ।
यसैगरी, डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा १ लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए ।