काठमाडौँ: पोखरामा बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ’ अस्पतालले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ।
पौडेल र आचार्यको उपचारमा प्राडा विडी झा, डा प्रविण गिरी तगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकर मान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ।