काठमाडौँ: सरकारले विभिन्न आयोग तथा अध्ययनका प्रतिवेदनका सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने सरकारको निर्णय गरेको छ । सरकारले मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
फागुन ६ गतेको मन्त्री परिषदको बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
उनले नव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान जानकारी दिए । उनका अनुसार सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने तथा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ५८औँ नियमित सत्रअन्तर्गत यही फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भ्रमण स्वीकृत गर्ने निर्णय सरकारले गरेको गुरुङले जानकारी दिए ।
यसैगरी सरकारका नाममा दर्ता रहेको सरकारी जग्गामा प्रसूति गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत निर्णय पनि मन्त्री परिषदले गरेको छ । साथै सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वलाई प्रयोग गर्न स्वीकृति दिने, सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्युट (व्यवसायी प्रशिक्षण केन्द्र )भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने, नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने, नेपाल र संयुक्त अमेरिकाबीच हुने पुरातात्विक तथा समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीको ओसारपसार र आयात प्रतिबन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।
यस्तै जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोर्ड आइटिबी बर्लिन–२०२५ र फ्रान्समा आयोजना हुने ७५औँ अन्नपूर्ण दिवसमा यही फागुन २० गतेदेखि २४ गतेसम्म सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृत प्रदान गर्ने, औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने तथा सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
