काठमाडौं : काठमाडौंको टोखाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २५ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ।
काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको ना १ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लैजाँदै गर्दा २५ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको २५ लाखभन्दा बढी अमेरिकी डलर र युरो बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो।
स्रोतका अनुसार रकमको साथसहित सिन्धुपाल्चोकका कुशान लामा पक्राउ गरिएको छ। ट्रकबाट नेपाली नोट भने बरामद नभएको ती अधिकारीले बताए।
प्रहरीले अहिलेसम्म बरामद गरेकोमध्ये यो नै सबैभन्दा ठूलो रकम हो। नेपालमा बसेर आपराधिक गतिवधिबाट संकलन गरेका रकम चिनियाँहरूले यसरी नै तस्कर गरेर नेपालबाट चीन लैजाने गरेका छन्। यो पनि त्यस्तै रकम हुन सक्ने अनुसन्धानरत स्रोतको शंका छ।
भारतको उत्तराखण्डमा उत्पादन हुने रक्तचन्दन नेपालको बाटो हुँदै तिब्बत तस्करी हुँदा पनि अमेरिकी डलरहरू बोकेर हिँड्ने चिनियाँहरू पटक-पटक समातिएका थिए।
रक्तचन्दनको तस्करी सेलाएसँगै अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिकहरु पक्राउ पर्ने क्रम घटेको थियो। तर, अहिले आएर सबैभन्दा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको हो।
रकम बरामदबारे विस्तृत जानकारी दिन कार्यालयले दिउँसो साढे १ बजे टेकुस्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ।
