काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको जनाएका छन् ।
शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्यान्डकाे बैंककमा ओली र मोदीबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीबिच भेटवार्ता सम्पन्न भयो । उहाँहरू बिचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो ।’
साथै उनले वान टु वान भएको भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बनाउँदै खुसी व्यक्त गरेको जनाएका छन् । प्रधानमन्त्रीको भनाई उदृत गर्दै रिमालले भनेका छन्- ‘दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा (वान–अन–वान) भएको यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बताउँदै खुसी व्यक्त गर्नुभएको छ ।’
प्रधानमन्त्री मोदीसँगको भेटलगत्तै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–
‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ।’
