काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको
युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे।
‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनवाको बारेमा चिन्ता गर्नुपर्दछ,’ ओलीले भने, ‘नेकपा एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले मिसन २०८४ भनेका छौँ। म साथीहरुलाई आग्रह गर्न चाहान्छु- ढुक्कले मिसन २०८४ मा लाग्नुहोस्।’
‘अब देशलाई तपाईंहरूले अगाडि बढाउनु पर्नेछ,’ ओलीको भनाइ छ, ‘देश कस्तो बनाउने? जन्मिदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्दान्त, कुल घरानाका आधारमा शासन गर्न खोज्ने सामान्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन्।’
उनलेभने, ‘लोकतन्त्र नमान्ने, संविधान नमान्ने। जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र मजाक उडाउने काम भएको छ। जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजानी गर्ने, मिडियागृहमा आगजानी गर्ने। यसरी कुन शासन ल्याउन खोजेका छन् भन्ने प्रष्ट भएको छ। अब युवाहरूले त्यस्ता कुरालाई देखिनेगरी, सुनिनेगरी अस्वीकार गर्नुपर्दछ।’
लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ।
