काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गरेर कानूनबमोजिम नाफा लिएर स्वदेश फर्कन विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
बिहीवारदेखि सुरु भएको कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनको उद्घाटन गर्दै ओलीले विदेशी लगानीकर्ताले नाफा लिएर स्वदेश फर्कँदा दोहोरो कर तिर्नु नपर्ने वातावरण सरकार बनाउने आश्वासन दिए । उनले कोशी प्रदेशमा लगानीको वातावरण सुदृढ भएको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
विदेशी लगानीकर्तालाई प्रधानमन्त्री ओलीले भने, ‘कोशी प्रदेशलगायत नेपालका जुनसुकै ठाउँमा लगानी गर्नुस् । राजस्व तिरेर प्रमाणपत्र लिनुस् अनि हात लागेको नाफा कानूनअनुसार लिएर स्वदेश जानुस्, दोहोरो कर तिर्नु पर्दैन । त्यसको वातावरण सरकार निर्माण गर्छ ।’
स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि कोशी प्रदेश लगानीका लागि उपयुक्त भएको उल्लेख गर्दै ओलीले भौतिक पूर्वाधार तथा सुरक्षाको अवस्था राम्रो भएकाले ढुक्क भएर लगानी गर्न सकिने बताए ।
‘अनुकूल वातावरण छ, ढुक्कले लगानी गर्नुस् । लगानी डुब्दैन, डराउनु पर्दैन,’ उनले भने ।
उद्योगी-व्यवसायीको आग्रहमा सरकारले अनुकूल ऐन र नीति संशोधन गरेर लगानीमैत्री वातावरण तयार पारेको उल्लेख गर्दै ओलीले भने, ‘कोशी प्रदेश भारत र बंगलादेशजस्ता ठूला बजारसँग जोडिएको हुनाले उत्पादन भएका वस्तुको बजारीकरणका लागि पनि अनुकूल छ । स्वदेशी वा विदेशी लगानीकर्तालाई कुनै समस्या हुने अवस्था आउन दिने छैन ।’
कोशी प्रदेश पर्यटकीय क्षेत्रसमेत भएकाले लगानीका लागि अपार सम्भावना भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । वैदेशिक व्यापारमा पनि प्रचुर सम्भावना रहेको भन्दै उनले भने, ‘अब रोजगार दशक होइन, उद्यमशीलता दशक मनाउनु पर्ने समय आएको छ ।’
सरकारी रोजगारी सीमित भएकाले उद्यमशीलता बढाएर रोजगार सृजना गर्नु आवश्यक भएको ओलीको भनाइ थियो ।
‘सरकारी जागिरको भर नपर्नुस् । उद्यमशीलतामा लाग्नुस्, सरकार तपाईंको साथमा छ । तपाईंले सुरुवात गर्नुस्,’ ओलीले भने ।
उनले विशेष गरी महिलाका लागि व्याज अनुदानसहितको नडुब्ने उद्यमशीलतालाई सरकारको प्राथमिकतामा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि कोशी प्रदेशमा लगानीको वातावरण तयार भएको भन्दै निजी क्षेत्रलाई इच्छाएको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
‘संघीय र प्रदेश सरकारले ऐन र नीतिमा संशोधन गरी बाधा र झन्झट हटाएका छन्,’ ढकालले भने, ‘अब ढुक्क भएर लगानी गर्ने अवस्था बनेको छ ।’
