काठमाडौँ:: चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।
चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताए ।
सबै क्लबको दाबी लिगमा राम्रो नतिजा ल्याउँछौँ
पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा उनिहरुले लिगको उपाधिमा आ–आफ्नै क्लबको दाबेदारी प्रस्तुत गरे ।
शुरुमा बोलेका न्यूरोड टोली एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले ‘ए’ डिभिजन लिगलाई आफूहरुले राम्रो सदुपयोग गर्ने बताए । तयारीका लागि खेल मैदान तथा गोल पोस्टको अभाव भएको बताउँदै लिग तालिकामा पाचौँ या छैटौँ स्थानमा रहने उल्लेख गरेका थिए ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग जित्ने लक्ष्यका साथ तयारी गरिएको बताए । ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले लिगमा नयाँ खेलाडीकै भरमा रहेको बताए । तालिकाको आठौँ स्थानमा रहने लक्ष्य रहेको बताउँदै उनले विगतको लिगमा भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए ।
नेपाल पुलिस क्लबमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेकाले लिग जित्नेमा विश्वस्त रहेको उनको दाबी थियो । फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण प्रशिक्षण राम्रो हुन नसकेको बताउँदै क्लबमा धेरै यू–१८ का खेलाडी रहेको बताए । उनले रक्षापङ्क्ति बलियो रहेकाले तालिकाको छदेखि आठौँ स्थानसम्म रहने विश्वास व्यक्त गरे ।
जावलाखेल युथ क्लबका प्रशिक्षक राजकुमार घिसिङले छदेखि नवौँ स्थानमा रहने विश्वास व्यक्त गर्नुभयो । लिगका लागि राम्रो तयारी गरेको उनको भनाइ छ । त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटकको लिगमा आफ्ना खेलाडी पूर्णरुपमा फिट रहेको र जितका साथ प्रतियोगिता शुरु गर्ने लक्ष्यमा रहेको बताए । “यस पटकको लिगको उपाधिका लागि नै हामी मैदानमा उत्रने छाँै”, उनले भन्नुभयो ।
मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक तोग्बे पूजाले उपाधि रक्षा गर्नु नै आफूहरुको लक्ष्य रहेको बताए । रेलिगेसन नहुने लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने लिगको विजेताले रु ५० लाख पाउनेछन् ।
यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख रुपैयाँ र तेस्रोले २५ लाख पाउने जनाएको छ । लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले पाँच लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत (एन्फा)ले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछन् ।