काठमाडौँ: बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक बन्द भएको छ।
आइतबार (आज) बिहान भएको वर्षापछि आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन मार्ग बगाएको मकवानपुर प्रहरीले जनाएको छ।
आज बिहान ६ बजेतिर डाइभर्सन भक्तिएपछि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा प्रहरीको टोली परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ।
यद्यपि डाइभर्सन नै बगाएपछि सडक खुलाउन समस्या देखिने भएको छ।
सडक अवरुद्ध भएपछि हेटौँडा-काठमाडौँ आउजाउ गर्ने यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
निरन्तर वर्षा भइरहेकाले थप जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन मकवानपुर प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।
