काठमाडौं: रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले केन्द्र र जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा मौसम र सम्भावित बाढी जोखिमबारे छलफल गर्नुभएको थियो ।
छलफलमा नदीको निरन्तर निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइएको थियो।

सोही छलफलपछि टिमुरेमा निगरानी प्रणाली विस्तारको काम अघि बढाइएको हो। क्यामेरा जडान भइसके पनि प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भिस्याट तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको जनाइएको छ। आवश्यक प्राविधिक काम पूरा भएपछि सम्भवतः रातिदेखि नै प्रणाली सञ्चालनमा आउनेछ।
क्यामेराबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवासँग एकीकृत गरिनेछ। यसबाट नदीको अवस्था निरन्तर निगरानी गर्दै बाढीको प्रारम्भिक संकेत पहिचान गर्न सहज हुनेछ।
विशेषगरी चीनसँगको सीमावर्ती क्षेत्रसमेत रहेको टिमुरे–रसुवागढी क्षेत्रमा बाढीको सम्भावित जोखिमबारे तत्काल जानकारी प्राप्त गर्न नयाँ प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। समयमै सूचना प्रवाह र पूर्वसूचना जारी गर्न सकिने भएकाले यसले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
