काठमाडौं: विपद्का कारण उत्पन्न विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा उद्योगी–व्यवसायीलाई परेको समस्या समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ।
चेम्बरले जमलस्थित आफ्नो सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो। पृथ्वी राजमार्गलगायत देशका विभिन्न महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति प्रभावित भएपछि व्यवसायीलाई सहजीकरण गर्न डेस्क स्थापना गरिएको चेम्बरले जनाएको छ।
डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानीका क्रममा देखिने समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ।
चेम्बरका अनुसार अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज आवागमनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरिनेछ।
यसअघि चेम्बरले विपद्को कठिन परिस्थितिको फाइदा उठाउँदै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न र उपभोक्तामाथि अनुचित मूल्यभार नथोपर्न व्यवसायीलाई आग्रह गर्दै उचित र न्यायोचित मूल्यमा सामग्री बिक्री–वितरण गर्न समेत अपिल गरेको थियो।
