भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार तीव्र, ३९६७ जनाको हवाई उद्धार
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ तथा ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको कामलाई तीव्र रूपमा अघि बढाइरहेको छ।


नेपाली सेनाले हवाई साधनमार्फत पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार कार्य जारी राखेको छ। विभिन्न जिल्लामा नेपाली सेनाले खोज तथा उद्धार, राहत, उपचार तथा अवरुद्ध पूर्वाधार सञ्चालनको कामलाई तीव्रता दिएको छ। प्रभावित क्षेत्रमा सडक तथा पुल सञ्चालनदेखि हवाई र जमिनी उद्धार तथा जलविद्युत् आयोजनाका सुरुङमा खोजी कार्यलाई सेनाले निरन्तरता दिएको हो। भदौ २१ गते दिउँसो १ बजेसम्म विभिन्न प्रभावित इलाकाबाट थप ५ जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म हवाई साधनमार्फत ३ हजार ९६७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६९२ जना नेपाली र २७५ जना विदेशी नागरिक रहेका छन्।
रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली (CQRT) तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ। त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा सुरुङमा नेपाली सेनाका ८ जना फौज उद्धार उपकरणसहित खोज तथा उद्धार कार्यमा खटिएका छन्।

त्यस्तै, त्रिशूली–३ ‘बी’ मा अडिट–२ बाट प्रवेश गरेको टोली अडिट–१ बाट बाहिर निस्किएको छ। अडिट–२ सुरुङबाट एक्स्काभेटर प्रवेश गर्न सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको सहायताले लेदो हटाउँदै पावरहाउसबाट करिब ५०–६० मिटर नजिक पुगेको छ। स्याफ्रुबेशीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर ड्रप गरी सुरुङ क्षेत्रमा लैजाने कार्य भइरहेको छ। माथिल्लो त्रिशूली–१ मा भने विदेशीसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ।
प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेशीसम्म नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य गरिरहेको छ। सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गर्दै आएका छन्।
