काठमाडौँ: ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् ।
चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले ६५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेकामा ९३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एक तथ्याङ्कअनुसार वाणिज्य बैंकले २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने २२ खर्ब आठ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम तीन खर्ब १२ अर्ब रुपैयाँ छ ।
गत साउन २५ गतेसम्म बैंकले २४ खर्ब ५५ अर्ब निक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्रा बढेर २५ खर्ब २० अर्ब पुगेको छ । यस्तै गत साउन २५ गतेसम्म २१ खर्ब १५ अर्ब ऋण लगानी गरेका बैंकले ऋण लगानी बढाएर असोज सो अवधिमा २२ खर्ब आठ अर्ब पु¥याएका छन् ।
ऋण लगानी गर्दा पनि अझै बैंकमा लगानीयोग्य रकम उपलब्ध देखिएको छ । यही असोज ५ गतेदेखि असोज १२ गतेसम्म मात्रै बैंकले रु आठ अर्ब निक्षेप सङ्कलन गर्दा सोही अवधिमा १९ अर्ब ऋण लगानी गरेका छन् । निक्षेपको तुलनामा तत्काल लगानीयोग्य रकम उपलब्ध भए तापनि आक्रामक लगानीका कारण आगामी दिनमा लगानीयोग्य रकममा संकुचन आउने सक्ने देखिन्छ ।
चाडबाडको समयमा सवारी साधनको खरिदमा समेत बैंकले लगानी बढाएका छन् । यस्तै उद्योग तथा अन्य व्यवसायमा समेत लगानी बढेका कारण ऋणको मात्रा बढेको हो ।