धनगढी: कैलालीको कैलारी गाउँपालिका-६ की साधना चौधरी ‘हुस्’ भन्दै जोडले चिच्याइन्। माइकमा आवाज आयो, ‘आवाज सानो भयो।’ फेरि उनले अझ जोडले ‘हुस्’ भनेर कराइन्। जापानी भाषाको शब्द ‘हुस्’ को अर्थ हुन्छ नमस्कार। कुनै पनि मार्सल आर्टको खेल सुरु हुँदा होस् वा आफ्नो गुरु वा सिनियरको अभिवादन गर्न ‘हुस्’ प्रयोग गरिन्छ।
बलात्कारका घटना बढिरहँदा राष्ट्रिय गोजुरियो कराँते-दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार हजार जना किशोरी र महिलाका लागि ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको हो। तर तालिममा झण्डै डेढ हजार सहभागी छन्। यो समाचार अन्नपुर्ण पोस्टमा छ ।
‘मैले आफ्नो सुरक्षा कसरी गर्नुपर्छ पहिलो दिनमै सिँके’, १४ वर्षीया साधनाले भनिन्, ‘कञ्चनपुरकी निर्मला बहिनीले यो तालिम पहिला लिन पाएकी भए सायद त्यो घटना हुन्थेन की ? ’ साधनाको आँखामा आक्रोश थियो। ‘मैले त्यो बलात्कारी भेटे काटिदिन्थेँ’, उनले भनिन्, ‘तालिमको पहिलो दिनमै मैले महिला पुरुष जत्तिकै बलियो हुने कुरा थाहा पाएँ।’ उनी कैलाली विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्छिन्। ‘मैले सिकेको कुरा साथीहरूलाई पनि बताउँछु’, उनले भनिन्।
साधना मात्र होइन कैलालीको चर्चित सामुदायिक विद्यालय पञ्चोदय माविमा कक्षा ९ मा अध्ययनरत प्रिन्सी शाह पनि जोसिएकी थिइन्। ‘कसैले हात समात्यो भने कसरी बच्नुपर्दो रहेछ, थाहा भयो’, उनले भनिन्, ‘महिलाले जसले जे गरे पनि सहनुपर्दो रहेनछ भन्ने सिँके।’
उनीहरूलाई पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकाइएको थियो।