काठमाडौँ: स्थानीय बजारमा सुनको माग बढेसँगै चरम अभाव देखिएको छ । दशैंको अवसरमा सुनको माग बढेपनि आपूर्ति कमि हुँदा बजारमा सुनको अभाब भएको व्यवसायी तेज रत्न शाक्यले बताए ।
दशैं नजिकिँदै जाँदा माग पनि बढ्दै गएको र सरकारले माग अनुसार आपूर्ति नगर्दा बजारमा सुनको अभाव हुँदा उपभोक्ता तथा व्यवसायी मारमा परेको उनको भनाई छ ।
उनले भने नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा सुनको कोटा दैनिक २० किलोग्राम बाट २५ किलोग्राम बनाएपनि बैंकहरुले तत्काल आयात नगर्दा बजारमा सुनको चरम अभाव भएको हो ।
बैंकहरुले प्रक्रिया पुराउदा नया कोटा अनुसार आयात गर्न केहि समय लाग्ने बताएको भन्दै शाक्यले भने दशैं अघि बढेको परिमाणमा सुन नआउने लगभग पक्का भयो ।
उनको अनुसार सुनको माग बढेर दैनिक ४० किलोग्राम पुगेको छ तर बजारमा हाल २० किलोग्राम मात्र आपूर्ति छ । मागको यो परिमाण अझै बढ्ने र दैनिक ५० किलो सम्म पुग्ने उनले बताए ।
उनले भने-“बजारमा मागको अनुपातमा आपूर्ति छैन । ग्राहकको मागअनुसार व्यवसायीले सुन उपलब्ध गराउन सकेका छैनन् ।सरकारले समयमा ध्यान नदिदा बजारमा सुनको अभाव भइरहेको छ ।”
“हाल एउटा व्यवसायीले हप्तामा ५ तोला सुन पाउछ तर एउटा उपभोक्तालेनै दिनमै ५ तोला सुनको अडर गर्छ । हामीले ग्राहकको अडर लिन सकेका छैनौ । ”
बढी माग हुने चाडपर्बको समयमा पनि सुन व्यापार गर्न नपाउदा व्यवसायीहरु मारमा परेको बताउदै, आपूर्ति कमि हुँदा बजारमा कालोबजारी सिर्जना हुँदा उपभोक्ताले बढी मूल्य तिर्न बाध्य भएको उनले बताए ।
बजारमा सुनको कालोबजारी तथा डलर संग नेपाली रुपैयाँ अबमुल्यन हुँदा उपभोक्ताले प्रति तोला ३००० रुपैयाँ सम्म महँगो तिर्न बाध्य भएको उनले बताए ।