काठमाडौँ : आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ‘इमाजिन नेपाल’ नामक संस्थाले यस वर्ष काठमाडौँदेखि रारा तालसम्मको गन्तव्य तयार गरेको छ ।
उक्त संस्थाले स्थानीय जनजीवनका विभिन्न संस्कृति, सम्पदा, वन्यजन्तुका साथै पर्यटकीय स्थलबारे खोज अनुसन्धान गरी वृत्तचित्र निर्माण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा त्यसको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
सन् २०१६ मा स्थापित संस्थाले यसअघि मनाङ र लोमान्थाङको भ्रमण गरी ‘इमाजिन नेपाल मनाङ’ र ‘इमाजिन नेपाल लोमान्थाङ’ नामक वृत्तचित्र निर्माण गरेको थियो । ‘इमाजिन नेपाल मनाङ’को वृत्तचित्र करीब पाँच लाखले अवलोकन गरेपछि त्यहाँ पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको आयोजकले जनाएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ‘इमाजिन नेपाल’का कार्यकारी प्रमुख मनायेक कार्कीले मुलुकमा आर्थिक क्षेत्रको प्रचुर सम्भावना रहेको भए पनि यसको समुचित विकास गर्न नसकिएको अवस्थामा पर्यटनका विभिन्न पक्षलाई उजागर गर्ने गरी यात्रा गर्न लागिएको जानकारी दिए ।
समुन्द्र सतहदेखि करीब तीन हजार मिटर उचाइमा रहेको रारा तालको अधिकतम लम्बाई पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने १६७ मिटर गहिराइ छ ।
नेपाल पर्यटन बोर्ड र भारतको महिन्द्र एडभेञ्चर नामक संस्थाले सहयोग गर्ने उक्त यात्रामा ८० जना यात्रु हनेछन् ।