काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दशैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्।
आज उक्त राजमार्गको स्थलगत निरीक्षणका क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे, मितेरी पुलसम्म पुग्नुभएका मन्त्री महासेठले पहिरो नियन्त्रणको काम दशैँलगत्तै शुरु गर्न र त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिनुभएको हो ।
‘गोरखा भूकम्प’पछि दर्जनौँ स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ गतेदेखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा सो नाका आगामी चैत अन्तिम सातादेखि खुलाउने विषयमा सहमति भएको छ ।
स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री महासेठ, सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का वन, वातावरण तथा उद्योगमन्त्री अरुण नेपाल लगायतले पहिरो नियन्त्रण, राजमार्गको मर्मत सम्भारलाई प्राथमिकतामा राखी काम गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका थिए।
तातोपानी नाका बन्द हुँदा मुलुकले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको छ भने हजारौँको रोजगारीसमेत प्रभावित भएको छ । मन्त्री महासेठले नाका खुल्ने विषयमा नेपाल र चीनबीच सहमति भएको सन्दर्भमा राजमार्गलाई व्यवस्थित बनाउन सरकारले दशैँलगत्तै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्री महासेठले सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठलाई राजमार्ग मर्मतको कार्ययोजना तत्काल तयार पार्न निर्देशन दिएका छन्।
डिभिजन कार्यालय चरिकोटका सिनियर डिभिजनल इञ्जिनियर अशोक तिवारीले केही दिनभित्रै पूर्ण कार्ययोजना तयार पारी पेश गर्ने प्रतिबद्धता जनाए।
चीन सरकारको लगानीमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भइरहेको सुक्खा बन्दरगाहको कामसमेत अगाडि बढेका सन्दर्भमा राजमार्ग मर्मतलाई विशेष प्राथमकितामा राख्न नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य सापकोटाले आग्रह गरे ।
मन्त्री महासेठ लगायतको टोलीले स्थानीयवासीसँग पनि राजमार्ग सञ्चालनका बारेमा अन्तक्र्रिया गरेको थियो । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राजमार्ग मर्मतका लागि आवश्यक समन्वय गर्न गाउँपालिका तयार रहेको बताए ।
भूकम्पपछि नियमित मर्मत सम्भार हुन नसक्दा राजमार्गमा दर्जनौँ पहिरो खसेका छन् । यातायात सञ्चालनमा ल्याउने गरी राजमार्गको मर्मत गर्ने र आगामी चैतदेखि नाकासमेत खुल्ने भएकाले भन्सार, अध्यागमन कार्यालयलाई समेत थप व्यवस्थित गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।