काठमाडौं: संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि पहिलो बजेट मंगलबार संसदमा प्रस्तुत गर्दै छ । बजेट निर्माणको सम्पूर्ण काम सकेर अर्थ मन्त्रालयले आज बिहान बजेट छाप्न पठाइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण साँझ चार बजे प्रस्तुत गर्दैछन् ।सोका लागि अहिले दुई बजे बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक डाकिएको छ ।
मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्रीले बजेटको ब्रिफिङ गर्न राष्ट्रपतिकहाँ जान्छन् । त्यसपछि सीधै बानेश्वरस्थित संसद भवन गएर अपरान्ह ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।
सरकारले १५ खर्व रुपैयाँ बराबरको बजेट लाउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ । सरकारले कुल जीडीपीको ५० प्रतिशतको हाराहारीमा बजेट ल्याउन लागेको हो । नेपालको हालको जीडीपी ३० खर्व रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय मान्यतामा जीडीपीको बढीमा ४० प्रतिशत बजेट ल्याउनु उपयुक्त मानिने अर्थशास्त्रीहरु बताउँछन् । तर हाम्रो जस्तो मुलुकमा विकास निर्माणका लागि लगभग जीडीपीको ५० प्रतिशत बजेट ल्याउने गरिएको छ ।
बजेटमा उर्जा, पूर्वाधार निर्माण, औधोगिककारणलाई जोड दिएको, स्रोत बताउँछ । सरकारले राजस्वको बृद्दीलाई ३० प्रतिशतसम्म बढाउने योजना लिएको छ । जस अनुसार राजस्व ९५० अर्व रुपैयाँसम्म संकलन गर्ने लक्ष्य सरकारले लिने देखिन्छा
त्यस्तै, प्रगतिशील करलाई अवलम्बन गर्ने देखिन्छ जसमा बढी आम्दानी गर्नेलाई बढी कर र कम आम्दानी गर्नेलाई कम कर लगाइन्छ ।
यता नीजि क्षेत्रले सरकारका करका दरहरु कस्तो हुन्छ र उद्योग मैत्री होला नहोला भन्ने पर्खा र हेरको अवस्थामा छन् । उनीहरु भन्छन – सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम अनुरुप नै बजेट ल्याए देशमा औधोगिक वातावरण सिर्जना हुन गई दोहोरो अंकको आर्थिक बृद्दी हाँसिल गर्न सकिन्छ ।
उनीहरु बजेटको नीति कार्यक्रम भन्दा पनि बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु पर्ने आजको आश्यकता रहेकोले बजेटमै यसको व्यवस्था हुने पर्ने बताउँछन् ।