काठमाडौँ: लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेप्से परिसूचक ११ दशमलव ९२ अंकले बढेर एक हजार २१९ दशमलव २० अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ अंकले वृद्धि भई २५९ दशमलव ३२ अंकमा पुगेको छ । नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर २४ करोड ४५ लाख ७० हजार ५५२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
अधिकांश उपसमूहको शेयर कारोवारमा वृद्धि हुँदा बजार हरियाली भएको हो ।
बैङ्किङ ११ दशमलव ५२, होटल ३७ दशमलव ६२, विकास बैङ्क १३ दशमलव ५९, जलविद्युत् ७ दशमलव ५९, वित्त २ दशमलव शुन्य सात, निर्जीवन बीमा ८७ दशमलव ४५, उत्पादन शून्य दशमलव ७, अन्य २ दशमलव ९, माइक्रोफाइनान्स १७ दशमलव ९८ र जीवन बीमा ४९ दशमलव ६२ अंकले बढेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।