काठमाडौँ: तिहार पछाडी स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । प्रतितोला सुन ५८ हजार ५०० रुपैयाँमा विक्री भएको सुन व्यावसायी तेज रत्न शाक्यले बताए ।
तिहार पछाडी खुलेको बजारमा सुनको मूल्य निरन्तर घटिरहेको बताउदै उनले भने आइतबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले र सोमबार प्रतितोला १०० रुपैयाँले घटेको थियो ।
अब सुनको मूल्य कतिसम्म घट्ला भन्ने यकिन भन्न नसकिए पनि अझै केही घट्न सक्ने उनले बताए । तिहारसम्म प्रति तोला सुन ६० हजार रुपैयाँमा विक्री भएको थियो ।
डलर मजबुत हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हुनाले स्थानीय बजारमा पनि मूल्य घटेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार २ सय ४ डलरमा झरेको शाक्य बताउँछन्।