काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आय २४२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले वृद्धि भई २४२ अर्ब १७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । डलर मजबुतहुँदा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.४ प्रतिशतले वृद्धि भई २७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।