काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य अनुरुपकै ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने नेपाल राष्ट्र बैंकले बताएको छ ।
अनुकूल मौसम, व्यावसायिक वातावरणमा आएको सुधार, उर्जा आपूर्तिमा भएको वृद्धि र पर्यटक आगमन बढेको कारण समष्टिगत आर्थिक परिदृष्य सकारात्मक रहेको भन्दै ८ प्रतिशतको आर्थिक वृद्धि हुने जनाएको छ ।
अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि आर्थिक वर्ष २०७५÷७६ मा नेपालको आर्थिक वृद्धिदरकोसम्बन्धमा गरेका प्रक्षेपणमा पछिल्लो
समय संशोधन गरेका छन्
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य वृद्धिको तथा नेपाली
रुपैयाँको अवमूल्यनका कारण आगामी दिनमा मुद्रास्फीतिमा चाप पर्नसक्ने जोखिम रहेको जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेको छ । वार्षिक विन्दुगत आधारमा २०७५ असोजमा उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । २०७४ असोजमा यस्तो मुद्रास्फीति ३.१ प्रतिशत रहेको थियो ।
अनुकूल मौसम, न्यून अन्तर्राष्ट्रिय मुद्रास्फीति र आपूर्ति व्यवस्थापनमा आएको सुधार लगायतका कारण चालु आर्थिक वर्षको पहिलो त्रयमासमा मुद्रास्फीति न्यून नै रहेको छ ।
कम्तिमा ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा उच्च आयातका कारण २०७५ असोज मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । उच्च आयातको प्रवृति कायमै रहेमा विदेशी विनिमय सञ्चितिमा थप दबाब पर्ने जोखिम छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा व्यापार घाटा ४५.९ प्रतिशतले बढेको छ । व्यापार घाटामा भएको उच्च विस्तारका कारण समीक्षा अवधिमा चालु खाता घाटा रु. ८१ अर्ब ९६ करोड र शोधनान्तर घाटा रु. ३५ अर्ब ४२ करोड रहेका छन्।