काठमाडौँ: युवा तथा साना व्यवसायी स्वरोजगार कोषले चालु आर्थिक वर्षको चार महिनामा ५ करोड २९ लाख रुपैयाँ भाखा नाघेको कर्जा असुली गरेको छ।
कोषको गत आर्थिक वर्षको अन्त्यसम्ममा रहेको ३० करोड १८ लाख रुपैयाँ भाखा नाघेको कर्जामध्ये कोषले चालु आवको हालसम्ममा ५ करोड २९ लाख कर्जा असुलउपर गरेको कोषका कानुन तथा कर्जा अशुली शाखाका प्रमुख ज्ञानहरि देवकोटाले बताए।
हाल कोषको २४ करोड २८ लाख भाखा नाघेका कर्जा रहेको छ।
कोषको बारम्बारको ताकेताबाट हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले गत हप्ता मात्रै बाँकी रहेको दुई करोड ३७ लाख तिरी सम्पूर्ण ऋण चुक्ता गरेको देवकोटाले बताए।
यधपी कोषले ताकेता गरेपनि — मजदुर शहिद बहूदेश्य शहकारी र मधुवन बचत तथा ऋण सहकारी संस्थालगायत अन्य ऋणीले कोषको कर्जा तिर्न ढिलासुस्ती गरेको उनले बताए।
मजदुर शहिद बहूदेश्य शहकारीको भाखा नाघेको कर्जा तीन करोडभन्दा बढी रहेको छ भने र मधुवन बचत तथा ऋण सहकारी संस्थाको ४७ लाख रहेको छ।
कोषका कार्यकारी निर्देशक डा बिष्णुप्रसाद गौतमका अनुसार कोष भाखा नाघेका कर्जा अशुली गर्न तातेका गरिरहेको बताउंदै यो आर्थिक वर्षमा भाखा नाघेको कर्जा पांच प्रतिशतमा झार्ने लक्ष्य रहेको छ।
कोषले भाखा नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने समेत उनले बताए।
कोषले भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिसकेको गौतमले बताए।
कोषको हाल ४ अर्व ५० करोडको हाराहारीमा लगानी रहेको छ ।
कोषले हालसम्म ५८ हजार युवालाई स्वरोजगार बनाउन लगानी गरिसकेको बताउंदै आगामी दिनमा अझ बढी युवाहरुमा लगानी गर्ने कोषको लक्ष रहेको उनले जानकारी दिए। गत वर्षमात्रै कोषले १७ हजार युवालाई स्वरोजगारका लागि लगानी गरेको थियो।
नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।
आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।
कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ सम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम ५० लाख रुपैयाँसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।
यद्यपी ऋणको सीमा भने प्रति युवा दुई लाख रुपैयाँबाट पांच लाख बनाउने तयारी गरेको भएपनि कोषको नियमावली मन्त्रिपरिषदबाट स्वीकृत गर्नु पर्ने भएकोले उक्त योजना लागु गर्न केही समय लाग्ने गौतमले जानकारी दिए।
कोषले ऋणको ब्याजदर भने १२ प्रतिशतबाट १० प्रतिशतमा झारी सकेको छ। हाल कोषले १० प्रतिशतमा ऋण उपलब्ध गराउंदै आएको भएपनि समयमा ऋण र ब्याज चुक्ता गरेमा कूल ब्याजको ६० प्रतिशत ऋणीलाई फिर्ता गर्ने प्रावधान छ।