काठमाडौं: नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा वस्न लागेको हो ।
वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काअनुसार नेपाल–बङगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको वैठक सोमबार र मंगलवार वस्ने तय भएको हो ।
वैठकमा सहभागी हुनको लागी वङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यिय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आईतबार काठमाडौं आईपुगेका छन् ।
नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले वैठकमा नेतृत्व गर्ने छन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको वैठक समेत तय भएको छ । उक्त वैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरेले वैठकको नेतृत्व गर्ने छन् भने बङगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्ने छन् ।
वैठकमा क्रस वोर्डर इन्टर कनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारवारे समेत दुवैपक्षबीच वार्ता हुनेछ ।
त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत वैैठकमा छलफल हुने बताइएको छ ।