बैतडी: बैतडीका सबै स्थानीय तहमा बंैंकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बंैंकिङ सुविधा पु¥याइएको हो ।
जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टीमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् ।
शिवनाथ गाउँपालिकामा केही दिन अगाडि मात्रै नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको भए पनि खाता खोल्ने काम मात्रै भइरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिए । खाता खोल्ने बाहेकका अन्य सेवा सुविधा केही दिनभित्रै सञ्चालनमा आउने उनले बताए।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा रहेका छन्, भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखा छन् । सरकारले २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि बैतडीका सबै स्थानीय तहमा भने एक वर्षपछि पुगेका हुन् । बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।