काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आय ३१२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई ३५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शुन्य दशमलब ५ प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४१.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेकोछ ।
समीक्षा अवधिमा चालु खाता घाटा ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा २ करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ ।