काठमाडौँ: यो वर्ष झन्डै एक खर्व ५० अर्व बराबरको धान उत्पादन भएको छ । यो तथ्याङ्क गत वर्षकोभन्दा झन्डै १० प्रतिशतले बढी हो।
कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष झन्डै एक खर्व ५० अर्व बराबरको ५६ लाख १० हजार टन धान उत्पादन भएको छ।
सरकारले तोकेको समर्थन मूल्य अनुसार एक खर्व ४५ अर्वबढीको धान उत्पादन भएको छ।
गत वर्षको तुलनामा धान उत्पादन ८.८९ प्रतिशतले बढी हो। गत वर्ष ५१ लाख ५१ हजार ९२५ टन धान उत्पादन भएको थियो। मौसमको अनूकुलता, रसायानिक मलको शुलभ आपूर्ती , गुणस्तरीय धानको विउको प्रयोगले उत्पादकत्व बढेसंगै धान उत्पादनले यो वर्ष नयाँ रेकर्ड कायम गरेको मन्त्रलायका प्रवक्ता तथा सहसचिव तेज बहादुर सुवेदीले बताए।
सीमित सिंचाइको व्यवस्थाको बावजुत पनि उत्पादकत्व बढ्नु राम्रो पक्ष भएको भन्दै यदि सिंचाइ बढाउन सके भइरहेको प्रविधिको प्रयोगबाट १० लाख टन धान उत्पादन बढाउन सकिने उनले बताए।
आगामी १० वर्षमा हालको ४५ प्रतिशत सिंचाइको व्यवस्थालाई ८० प्रतिशतमा पुर्याउने लक्ष रहेको उनले बताए । यो वर्ष धानको उत्पादकत्व प्रति हेक्टर ३.५१ टनबाट बढेर ३.७६ टन पुगेको छ। यद्यपी यो उत्पादकत्व कम हो, उनले भने।
गत दुई दशकमा धानको उत्पादकत्व प्रति हेक्टर झन्डै एक टनले बढेको छ। कृषिको यागदान जीडीपीमा २७ प्रतिशत रहेकोमा धानको मात्रै ६ देखि ७ प्रतिशत रहेको छ।
यस वर्ष सबैभन्दा बढी प्रदेश नम्बर २ मा धान उत्त्पादन भएको छ। यस प्रदेश झन्डै १५ लाख टन धान उत्पादन भएको छ भने प्रदेश नम्बर १ मा १२ लाख ३७ हजार, प्रदेश नम्बर ५ मा ११ लाख ८८ हजार, सुदुरपस्चिम प्रदेशमा ६ लाख पांच हजार, प्रदेश नम्बर ३ मा पांच लाख २१ हजार, गण्डकी प्रदेशमा ४ लाख २७ हजार टन धान उत्पादन भएको मन्त्रलायको तथ्यांक छ।
सबैभन्दा कम १ लाख ३३ हजार टन धान उत्पादन कर्णाली प्रदेशमा भएको छ।