काठमाडौँ: सरकारले जनकपुर–जयनगर-कुर्थामा आफ्नै रेल सञ्चालनमा ल्याउने भएको छ ।
सरकारले नेपालको झन्डा हालेर प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर लामो रेलवे स्टेशनमा आफ्नै रेल गाडी संचालन गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
उनले भने- “हामी केहीमहिना भित्रै जयनगर–कुर्थामा आफ्नै रेल सेवा संचालन गर्ने छौ जसकालागि भारतबाट दुईवटा रेल खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ ।”
भारत सरकारले रेलको मूल्य पठाइसकेको बताउदै भारत सरकारले पठाएको मूल्य हामीले अनुमान गरेको मूल्यसंग लगभग मिलेको उनले बताए ।
भारतले कहिलेसम्म हामीलाई रेल उपलब्ध गराउने र मूल्य कति हुने भन्ने निर्णय पुष २६ गते सम्ममा हुने मन्त्री महासेठले बताए ।
यधपी एउटा रेलको मूल्य ५० करोड भन्दा बढी नपर्ने उनले बताए ।
जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने छ ।