काठमाडौँ: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको चेम्बर खोसिएको छ । सर्वोच्च अदालत प्रशासनले उनी बस्ने गरेको चेम्बरमा दीपककुमार कार्कीलाई स्थान्तरण गरेको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आदेशपछि १ नम्बर इजलाशको चेम्बरमा दीपककुमार कार्कीलाई राखिएको हो । दीपकराज जोशीलाई भने सर्वोच्चकै कुनामा रहेको एउटा कोठा उपलब्ध गराइएको छ ।
यसअघि दीपकराज जोशी वरिष्ठतम् न्यायाधीशका रुपमा १ नम्बरको इजलाश र चेम्बरमा बस्ने गरेका थिए । बिहिबार एकाएक आफू बस्ने चेम्बरसमेत खोसिएपछि उनी बिहान सर्वोच्च अदालतमा पुगी हाजिर गरी घर फर्किएका छन् ।
बुधबार रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश जोशीले इजलाश नदिए पनि आफू नियमित कामका लागि सर्वोच्च जाने बताएका थिए ।
त्यसैअनुसार उनी सर्वोच्च अदालत पुगेर हाजिर गरी घर फर्किएका हुन् ।
बुधबार नै नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोशीलाई राजीनामा दिन सुझाएका थिए ।