काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताएका छन् ।
नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उनले परिणाममुखी परिवर्तनको बाटोमा अघि बढाउन नसके देश फेरि अराजकताको भुमरीमा फस्ने बताए। “साहित्यिक र सांस्कृतिक दृष्टिले भावनात्मक रुपमा राजनीतिक रुपान्तरण नगरेसम्म परिवर्तन स्थायी हुन सक्दैन, देश इतिहासकै राम्रो अवसरमा पुगेकाले विकास र समृद्धि नै सबैको लक्ष्य हुनुपर्छ,” उनले भने ।
आफू समृद्धिको यात्रामा समर्पित भएर देशप्रतिको ऋण चुक्ता गर्ने अध्यक्ष दाहालले बताए । साइनबोर्ड कसले के राख्यो भन्दा पनि जनतालाई कसले के दियो भन्ने महत्वपूर्ण हुने उनको भनाइ थियो । खण्डकाव्यको समीक्षा गर्दैै डा रामप्रसाद ज्ञवालीले नारी हकहित र चेतनाको विषय उठाउन पुस्तक सफल रहेको बताए । कृतिका माध्यमबाट कवयित्रीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रुपान्तरण जरुरी रहेको सन्देश दिनुभएको उनले जानकारी दिए ।
लेखिका बस्नेतले फरियामा सीमित गरेर महिलाको क्षमता दबाइएको विषय आफूले साहित्यमार्फत उठाएको सुनाउनुभयो । राम्रा कृतिको अनुवाद गरी विश्व साहित्यमा दर्ज गराउन राज्यले सहयोग गर्नुपर्ने उनले माग गरे ।
कार्यक्रममा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, गायक जीवन शर्मा, पत्रकारहरु ओम शर्मा, गोविन्द पोखरेल र ऋषि धमला, सफाइ अभियानकर्मी माला खरेल, क्याप्टेन विजय लामा, साहित्यकार हरिहर खनाल, खेलाडी दमन बस्नेत, चलचित्रकर्मी दयाहाङ राई, कलाकार नारदमणि हार्तम्छालीलगायतलाई सम्मान गरिएको थियो ।
दुई खण्डमा विभाजित पुस्तकमा ११६ पृष्ठ छ । पाल्पा बुक्सले प्रकाशन गरेको खण्डकाव्यको मूल्य रु २०० छ । साहित्यकार बस्नेतको यो १६औँ कृति हो ।