काठमाडौँ: चालू आर्थिक वर्षको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको
सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो ।
२०७५ मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको थियो। २०७४ मंसिरको तुलनामा तरकारी, दाल तथा दलहन र चिनी तथा चिनीजन्य पदार्थ उप–समूहका वस्तुहरूको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो ।
समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत घरायसी सेवा तथा उपयोगिता, यातायात, लुगा तथा जुत्ता र फर्निसिङ तथा
घरायसी उपकरणलगायतका उप–समूहका वस्तु तथा सेवाहरूको मूल्य वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।
२०७५ मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ३.८ प्रतिशत, काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र तराईमा ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.५ प्रतिशत, ४.८ प्रतिशत, ३.४ प्रतिशत र ४.३ प्रतिशत रहेको थियो ।
२०७५ मंसिर महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत र भारतको २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.२ प्रतिशत र भारतको ५.२ प्रतिशत रहेको थियो ।
२०७५ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति १.८ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातुहरू, यातायातका उपकरण तथा पार्टस्, गैर–खाद्य पदार्थलगायतका वस्तुहरूको मूल्य वृद्धि भएकोले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क १०.१ प्रतिशतले वृद्धि भएको छ ।