काठमाडौं : युनिभर्सल पावर कम्पनीको आइपीओ भर्ने म्याद पुनः १ हप्ता थप गरेको छ । अब यो आइपीओमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि पनि कम्पनीले पुस २९ बाट समय थप गरेर आज (माघ ६ गते) सम्म आइपीओ भर्न सकिने जनाएको थियो । तर यो समयमा पनि आवश्यक मात्रामा आवेदन नपरेपछि कम्पनीले फेरि दोस्रो पटक समय थप गरेको हो ।
युनिभर्सलले पुस १५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्रीमा ल्याएको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन्न् । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म भर्न पाइनेछ ।
सिटिजन्स बैंक, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंक तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आइपीओ भर्न सकिन्छ । यस्तै, सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।