काठमाडौं: एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ ।
११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए ।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।
युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि यी दुई खेलाडीले उकासेका थिए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० रन बनाए भने आरिफले २५ रन बनाए ।
नेपालका कप्तान पारस खड्का २० रनमा आउट भएपछि नेपाल पूरै दबाबमा आएको थियो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन-तीन विकेट लिए ।
त्यस्तै, इम्रन हैडरले दुई विकेट लिए ।
नेपालको यसरी सुरु भयो विकेट पतन
टस हारेर पहिले ब्याटिङ गर्न मैदानमा छिरेको नेपालको ओपनिङ पहिलेका भन्दा राम्रो हुने अपेक्षा गरिएको थियो ।
ओपनिङमा ज्ञानेन्द्र र विनोद भण्डारी आएका थिए । तर, पूरानै रोगबाट नेपाल छुटकारा पाउन सकेन । पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट हुनुले नेपाल सुरुआती समयमा नै दबाबमा आएको थियो ।
ओपनिङ समस्या पहिले कै जस्तो दोहोरियो । पहिलो विकेट शुन्य रनमै गुमाएको नेपालले दोस्रो विकेट १६ रन हुदा गुमाएको थियो । यो पटक भने अर्का ओपनर विनोद पाँच रन बनाएर आउट भए । ६.१ ओभरमा विकेट गुमाएको नेपालले पूरै दबाबमा आयो ।
१२ ओभरको खेल चलिरहँदा नेपालले अर्को विकेट गुमायो । यो पटक भने कप्तान पारस खड्का नै आउट भए । व्यक्तिगत २० रनमा पारस आउट भएपछि नेपाल झनै दबाबमा आएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट हुँदा नेपालको स्कोर चार विकेटको क्षतिमा ४७ रन भयो ।
नेपालका लागि सोमपाल कामीले केही हदसम्म राहात दिए । तर सोमपाल पनि ३० रनमा आउट भएपनि नेपाल झनै दबाबमा आएको थियो । यसबेला नेपालको स्कोर पाँच विकेटको क्षतिमा ७१ रन हुन पुग्यो ।
त्यसपछि छैटौ विकेटको रुपमा पवन सर्राफ तीन रनमा आउट हुदा नेपालको स्कोर ७६ थियो । त्यसपछि करण केसी २३.३ ओभरमा, बसन्त २४.५ ओभरमा आउट हुदा नेपालको स्कोर ८ विकेटको क्षतिमा ८१ रन बन्यो ।
नवौं विकेटको रुपमा आरिफ २५ रनमा आउट हुँदा नेपालको स्कोर १०६ रन भयो । नेपाल ११३ रनमा अलआउट हुदा १०औं विकेटको रुपमा सन्दीप १५ रनमा आउट भए । त्यस्तै ललितनारायण भने २ रनमा अविजित रहे ।
२६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।
एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी-ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ ।
त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल खेल्नेछ ।