काठमाडौं: नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।
निगमले दुई वाइबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। यसमा सरकार जमानी बसेको छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख रुपैयाँका साथै अर्का दुई न्यारोबडीको पनि ३३ करोड नौ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेछ। निगमले न्यारोबडीको सबै किस्ता भने बुझाएको छ। पुस मसान्तमा तिर्ने वाइड बडीको दोस्रो किस्ता हो। असोजमा व्याज मात्रै बुझाएको थियो। निगमका अनुसार ऋण सम्झौता गर्दा पहिलो किस्तामा व्याज बुझाउने सहमति भए अनुसार करिब ४५ करोड बुझाएको थियो।
न्यारो बडी विमानको भने १३ औं किस्ता हो। निगमले वाइड बडी गत असार र साउनमा ल्याएको थियो भने न्यारो बडी विमान चार वर्षअघि ल्याएको हो। ऋणमा ल्याएका विमानको तीन–तीन महिनामा किस्ता तिर्ने सम्झौता छ। समयमै किस्ता नबुझाएपछि ऋण दिने सञ्चय कोष र लगानी कोष दुवैले किस्ता बुझाउन ताकेता गरिरहेका छन्।