काठमाडौँ: नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ ।
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताइएको छ । देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि ओपीडीलगायतका सेवा बन्द हुने संघले जनाएको छ ।
संघले वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघको भनाइ छ ।
संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताललगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् ।